एसपी यादव/सर्लाही, असार ३० गते । जिल्लाको गोडैता नगरपालिका-१० निवासी ३५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारकै क्रममा निधन भएको छ । चार दिनदेखि काठमाडौँस्थित विशेषज्ञ बर्न अस्पतालमा उपचाररत मण्डलको मंगलबार बिहान निधन भएको हो ।

मण्डलले असार २६ गते आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । गम्भीर अवस्थामा रहेका उनलाई स्थानीयवासी र नेपाल प्रहरीले उद्धार गरी प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएका थिए । स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित विशेषज्ञ बर्न अस्पतालमा थप उपचारका लागि रिफर गरिएको थियो । चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान बचाउन नसकिएको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानले व्यक्तिगत तथा पारिवारिक समस्याका कारण उनले यस्तो कदम चालेको प्रहरीले जनाएको थियो ।

यसैबीच सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसद डा. अमरेश सिंहले विवेक मण्डलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारलाई आजीवन सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार बिहान ८:०२ बजे आफ्नो सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत शोक सन्देश जारी गर्दै सांसद सिंहले, “विवेक मण्डललाई बचाउन मेरो व्यक्तिगत प्रयास, सरकार तथा उपचारमा संलग्न चिकित्सकहरूले कुनै कसर बाँकी राखेका थिएनन् । अथक प्रयासका बाबजुद उनको निधन भएको छ,” उल्लेख गरेका छन् । उनले विवेकको दुःखद तथा असमयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै विवेकको परिवारलाई आफूबाट हुन सक्ने हरेक प्रकारको सहयोग आजीवन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यस घटनाले सर्लाहीसहित देशभर शोक र चिन्ता उत्पन्न गराएको छ । मानसिक तनाव तथा निराशाबाट गुज्रिरहेका व्यक्तिहरूलाई समयमै आवश्यक मनोसामाजिक परामर्श, पारिवारिक साथ र सामाजिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर