एसपी यादव/सर्लाही, असार २९ गते । सर्लाही प्रहरीले जिल्लाको धनकौल गाउँपालिकास्थित रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रा.लि. बाट उखुको भुक्तानी लिन बाँकी रहेका सम्पूर्ण किसानलाई रकमको विवरणसहित जाहेरी दर्ता गराउन आग्रह गरेको छ ।

 

सर्लाही प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, उक्त चिनी उद्योगले लामो समयदेखि उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको, पटक-पटक किसान आन्दोलित भएको तथा चिनी मिलका सञ्चालकद्वारा भुक्तानी गर्ने मिति समेत पटक-पटक सारिएको विषयमा अनुसन्धान भइरहेको छ । यसै विषयसँग सम्बन्धित उजुरीका आधारमा चिनी मिलका सञ्चालकमाथि मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढाइएको छ । सोही प्रकरणमा मिलका सञ्चालक द्वय बिनोद साह कलवार र सैलेन्द्र गुप्तालाई असार २४ गते पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिए ।

 

डिएसपी गौतमले, अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिजबाट उखुको भुक्तानी लिन अझै बाँकी रहेका किसानलाई आफूले पाउनुपर्ने रकमको विवरण, सम्बन्धित कागजात तथा प्रमाणसहित यथाशीघ्र जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा उपस्थित भई जाहेरी दर्ता गराउन अनुरोध गरेको छ । किसानबाट प्राप्त हुने थप जाहेरी र प्रमाणका आधारमा अनुसन्धानलाई थप प्रभावकारी बनाइने उनले बताए ।

 

उखु किसानको भुक्तानी विवादका कारण अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज विगतदेखि नै चर्चामा रहँदै आएको छ । किसानले पटक-पटक आन्दोलन गर्दै समयमै भुक्तानीको माग गरेका थिए भने उद्योगले विभिन्न समयमा भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको आरोप किसानहरूको रहेको छ । भने डिएसपी गौतमले भुक्तानी नपाएका किसानलाई ढिलाइ नगरी कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर