एसपी यादव/सर्लाही, असार २८ गते । सर्लाही प्रहरीले जिल्लाको हरिवन नगरपालिका-३ डाबरीलाई लक्षित गर्दै आइतबार सञ्चालन गरेको विशेष अपरेशनमा ठूलो परिमाणमा लागुऔषधजन्य औषधि तथा गाँजा बरामद गरेको छ ।

लागुऔषध बिक्री-वितरणको ‘हटस्पट’का रूपमा परिचित उक्त क्षेत्रमा प्रहरीले सर्च अपरेशनसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सर्लाही प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा सर्लाही प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलको कमाण्डमा १७८ जना प्रहरी परिचालन गरी व्यापक सर्च तथा नियन्त्रण अभियान सञ्चालन गरिएको हो । अभियानका क्रममा हरिवन नगरपालिका-३ निवासी २३ वर्षीय कृष्णा प्रजा र सोहि ठाउँका २३ वर्षीय मनोज मुक्तानलाई नियन्त्रणमा लिइएको छ । शंकास्पद घर तथा बगैँचामा गरिएको खानतलासीका क्रममा विभिन्न प्रकारका लागुऔषधजन्य सामग्री बरामद गरिएको हो ।

बरामद सामग्रीमा ओनेक्सेक्स २६ बोतल, स्पाज्मोप १८ पत्ता (१४४ ट्याब्लेट), नाइट्राजेपाम १३ पत्ता (१३२ ट्याब्लेट) का साथै गाँजा २०० ग्राम र कागजमा बेरेर तयार पारिएका गाँजा १४ प्याकेट (१८० ग्राम) तथा ओनेक्सेक्सका ३०० वटा खाली बोतल रहेको डिएसपी गौतमले बताएको छ ।

प्रहरीले उक्त क्षेत्रमा भेला भएका करिब ६० जनालाई लागुऔषधको दुष्प्रभाव, कानुनी व्यवस्था तथा यसको नियन्त्रणसम्बन्धी सचेतनामूलक अन्तरक्रिया र छलफलसमेत गरेको जनाएको छ ।

सर्लाही प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार जिल्लामा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न यस्ता विशेष अपरेशन आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर