विराटनगर, २८ असार ।’जेनजी’ अभियन्ता माजिद अन्सारीको पक्राउको विरोधमा प्रदर्शन गर्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिइरहेको अवस्थामा उनीहरूलाई शनिबार राति साढे ९ बजे प्रहरीले पक्राउ गरेको हो।
अभियन्ता अन्सारीको पक्राउलाई लिएर आक्रोशित बनेका समूहले प्रहरी कार्यालयकै गेट अगाडि भेला भई प्रदर्शन गरेका थिए। सो समूहले सुरक्षा निकायको मुख्य प्रवेशद्वारमै अवरोध सिर्जना गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले सुरक्षा संवेदनशीलता र कार्यालयको कामकाजलाई ध्यानमा राख्दै उनीहरूलाई नियन्त्रणमा लिनुपरेको जानकारी दिए।
“कार्यालयको मुख्य प्रवेशद्वारमै अवरोध हुने गरी र आवागमन नै प्रभावित पार्ने गरी धर्ना कार्यक्रम गरिएपछि उनीहरूलाई नियन्त्रणमा लिएका हौँ,” डीएसपी मिश्रले भने।
पक्राउ परेका सबै व्यक्तिहरू ‘जेनजी’ समूहसँग आबद्ध अभियन्ताहरू रहेको प्रहरीले जनाएको छ। घटनापश्चात प्रहरी कार्यालय परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। पक्राउ परेकाहरूलाई हाल प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ।






