विराटनगर,२८ असार । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा एक १४ वर्षीया बालिकाको ज्यान गएपछि पीडित परिवारले चिकित्सकको चरम लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ घर भई हाल राजविराज नगरपालिका वडा नम्बर ६ मा बस्दै आएका मिथिलेश मण्डलकी छोरी नेहा मण्डलको निमोनियाको उपचारका क्रममा मृत्यु भएको हो। बालिकालाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो।
पारिवारिक स्रोतका अनुसार हिजो राति दुई बजेसम्म बालिकाको अवस्था सामान्य थियो र उनले आफ्ना बुबासँग घर फर्कनेबारे कुराकानी समेत गरेकी थिइन्। तर, केही बेरमै चिकित्सकहरूले अक्सिजनको मात्रा कम भएको भन्दै उनलाई आईसीयूबाट भेन्टिलेटरमा सार्नका लागि बुबा मिथिलेशसँग सम्झौता गराएका थिए।
भेन्टिलेटरमा राख्ने प्रक्रियाका क्रममा अक्सिजन पाइप (इन्ट्युबेसन) हाल्दा त्यहाँ कार्यरत प्रशिक्षार्थी चिकित्सक अनिल साहले मुख्य एनेस्थेसिया चिकित्सकको उपस्थिति बिना नै जबरजस्ती आफैँ पाइप हाल्न खोजेको पीडित पक्षको भनाइ छ। एनेस्थेसियाको संवेदनशीलता र मुख्य चिकित्सकको आवश्यकताबारे प्रश्न गर्दा चिकित्सक साहले गैरजिम्मेवारपूर्ण व्यवहार देखाउँदै जवाफ फर्काएको आरोप लगाइएको छ। पाइप हाल्ने क्रममा अत्यधिक बल प्रयोग गरिँदा बालिकाको भित्री नशा च्यातिएर नाक र मुखबाट ठुलो मात्रामा रगत बगेको र सोही कारण बालिकाको तत्कालै मृत्यु भएको बुबा मिथिलेश मण्डलले बताए।
घटनालगत्तै अस्पतालका कर्मचारी र गार्डहरूको शङ्कास्पद दौडादौड देखेपछि आमाबुबा जबरजस्ती आईसीयूभित्र पस्दा बेडभरि रगत लतपतिएको अवस्थामा छोरीको मृत शरीर फेला पारेका थिए। अस्पताल प्रशासनले राति सवा दुई बजेतिर मात्रै बिरामीलाई मृत घोषित गरेको थियो। अहिले अस्पताल प्रशासन र मेडिकल टोलीले आफ्नो कमजोरी लुकाउनका लागि बिरामीको अवस्था पहिले नै जटिल रहेको र भित्री अङ्गहरू सुन्निएको दाबी गरिरहेको पीडित पक्षको भनाइ छ। यसअघि गरिएका यूएसजी, रगत जाँच र एक्स-रे रिपोर्टहरूमा कुनै गम्भीर समस्या नदेखिएको परिवारले स्पष्ट पारेका छन्।
यसैबीच, पीडित परिवारले घटनापछि अस्पताल प्रशासनले आफूहरूलाई धम्की दिने गरेको समेत आरोप लगाएका छन्। अस्पताल ठुलो र पहुँचवाला भएकाले प्रशासन तथा शक्तिको दुरुपयोग गरेर घटना दबाउन खोजिएको र आफूहरूलाई विभिन्न किसिमले त्रसित बनाउन खोजिएको उनीहरूको दाबी छ।
पीडित परिवारले चिकित्सकको लापरबाहीविरुद्ध कानुनी लडाइँ लड्ने र शव नबुझी निष्पक्ष पोस्टमार्टम एवं कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने अडान लिएका छन्। उनीहरूले शक्ति र पहुँचको बलमा घटनालाई ओझेलमा पार्न सक्ने जोखिम रहेको भन्दै निष्पक्ष छानबिन र न्यायका लागि सञ्चारमाध्यम तथा आम सर्वसाधारणसँग अपिल गरेका छन्।यस विषयमा अस्पताल प्रशासनले केही बताउन चाहेनन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर