एसपी यादव/सर्लाही, असार १८ गते । सर्लाहीको बसवरिया गाउँपालिका वडा नम्बर १ मानपुरमा गत असार ७ गते मध्यरातमा सुतिरहेको बेला ओछ्यानमै धारिलो हत्यार प्रहार गरी भएको ५३ वर्षीय होस नारायण राय यादवको विभत्स हत्याकाण्डको चकित पार्ने रहस्य खुलेको छ ।

घटना भएको ११ दिनपछि आज बिहिवार जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले ‘पत्रकार भेटघाट कार्यक्रम’ आयोजना गरी घटनाको अनुसन्धान तथा हालसम्मको प्रगतिबारे सर्लाही प्रहरी प्रमुख एसपी रबिन्द्रनाथ पौडेलले औपचारिक जानकारी दिएको छ ।
एसपी पौडेलका अनुसार, आफ्नै बुबा र भिनाजुलाई कानुनी फन्दामा फसाउने नियतले सोही ठाउँका अभियुक्त अन्दाजी २५ वर्षीय सन्तोष कुमार रायले छिमेकीको क्रूर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछमा अभियुक्त सन्तोष कुमार रायले आफ्नो अपराध स्वीकार गर्दै हत्याको मुख्य कारण पारिवारिक रिसइबी रहेको बयान दिएका छन् । घटनाको अघिल्लो दिन (असार ६ गते) घरमा मोबाइलको विषयलाई लिएर सन्तोषको आफ्नै बुबा श्यामबाबु रायसँग झगडा भएको थियो । त्यसैगरी बुबा र भिनाजु राम विलास रायले आफूलाई बेलाबेलामा पैसा नदिने गरेको र ‘सुधार केन्द्र’ पठाइदिने धम्की दिने गरेका थिए । सोही रिसको बदला लिन र आफ्नै बुबा तथा भिनाजुलाई हत्याको मुद्दामा फसाएर जेल कोच्ने गुरुयोजनासहित उनले निर्दोष छिमेकी होस नारायण रायको हत्या गरेको स्वीकारेका छन् ।

घटनामा प्रयोग भएको ना ४५ प २६८५ नम्बरको ग्ल्याम्बर मोटरसाइकल असार ८ गते नवलपुर-मलंगवा सडकखण्डको एक निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानले अभियुक्त सन्तोषले घटनाको दिन छिमेकी हरिन्द्र राम यादवको सो मोटरसाइकल आफैँले चोरी गरी हत्या गर्न गएको र वारदात पश्चात् त्यहाँ छाडेर फरार भएको खुलेको छ । हत्यामा प्रयोग गरिएको घरेलु हतियार (हँसिया) भने उनले भाग्ने क्रममा बरहथवा नगरपालिका वडा नम्बर १३ स्थित बिनमा टोलको सडक छेउको खेतमा फ्याकेको बयान दिएका छन्, जसको खोजी कार्य जारी छ ।

वारदात पछि लगातार स्थान बदल्दै लुकिछिपी बसिरहेका अभियुक्त रायलाई खोज्न प्रहरीले स्थानीय गाउँटोल र बजारहरूमा व्यापक सञ्जाल परिचालन गरेको थियो । असार १६ गते दिउँसो ३ बजेको समयमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७, बरहथवा बजार नजिक लुकिछिपी बसिरहेको अवस्थामा स्थानीय बासिन्दाहरूको सूचना र सहयोगमा प्रहरी टोलीले उनलाई पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका अभियुक्त सन्तोष कुमार रायविरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र चोरी मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले उनलाई सम्मानित सर्लाही जिल्ला अदालत मलंगवामा उपस्थित गराई अनुसन्धानका लागि पहिलो पटक ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको छ ।
गत असार ७ गते बिहान अन्दाजी ०१:४५ बजेको समयमा आफ्नो घरमा सुतिरहेका रायमाथि सन्तोष मोटरसाइकलमा आई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट रायको घाँटीको दाहिने साइडमा ५ इन्च लामो र २ इन्च चौडा गहिरो चोट लागेको थियो । इलाका प्रहरी कार्यालय मानपुर र बरहथवाबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उपचारका लागि बरहथवा नगर अस्पताल पुर्याए पनि उपचारकै क्रममा बिहान ०३:०० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रमुख प्रहरी एसपी रवीन्द्रनाथ पौडेलको कमाण्डमा आईटी सहितको विशेष टोली र मधेश प्रदेश प्रहरी कार्यालयको के९ शाखा लालगढबाट तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेर सूक्ष्म अनुसन्धान थालेको थियो ।
होस नारायण राय यादवको विभत्स हत्यामा छिमेकी युवाको संलग्नता रहेको कुरा मृतक रायसंगै सुतेका आफ्नै १४ वर्षीय छोरा राजकपुर यादवसंगको सोधपुछ, जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको प्राविधिक अनुसन्धान, सीसीटीभी फुटेज र तालिमप्राप्त कुकुरको प्रयोग गरी हत्याको रहस्य उजागर भएको हो ।
खराब आचरणका कारण अभियुक्त यसअघि पनि सुधार केन्द्रमा बसिसकेको खुलेको छ ।
मध्यरातमा भएको यस विभत्स हत्याकाण्डले स्थानीय क्षेत्र त्रसित बनेको थियो । भने कानुनी राज्यको उपहास गर्ने अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न स्थानीयबासीले माग गरेका छन् ।






