राजविराज, १५ असार – कञ्चनरूप नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनमा सोमबार गृह प्रवेश गरिएको छ। नगरप्रमुख ललनप्रसाद गुप्ताले एक विशेष समारोहबीच नवनिर्मित भवनमा पूजाआजासहित गृह प्रवेश गरेका हुन्।
भवनको गृह प्रवेश कार्यक्रममा नगरप्रमुख गुप्ताका साथै प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर, अधिकृत नवराज खड्का, लेखा अधिकृत राजेश कुमार राज नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।


नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै नगरका प्रशासनिक कामकारबाही थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ। गृह प्रवेशसँगै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले अब नयाँ कार्यालय परिसरबाट सेवाग्राहीलाई सेवा प्रदान गर्नेछन्। यसअघि पुरानो भवनबाट सेवा दिँदै आएको नगरपालिकाले अब आफ्नै नयाँ भवनबाट सेवा विस्तार गरेको हो।

कार्यक्रममा सहभागीहरूले भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै नयाँ भवनबाट प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गरेका थिए।








