एसपी यादव/सर्लाही, असार ६ गते । जिल्लाको बागमती नगरपालिका स्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक ६ वर्षीय बालक डुबेर बेपत्ता भएका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार, बागमती नगरपालिका-७ निवासी सरगम माझीका अन्दाजी ६ वर्षीय छोरा सफल माझी शुक्रबार अपराह्न करिब ४ बजे आफ्ना साथीहरूसँग बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै रहेका अन्य तीन बालबालिका भने सकुशल घर फर्किएका थिए । घटनाबारे शनिबार बिहान करिब साढे ६ बजे जानकारी प्राप्त हुनासाथ बेपत्ता बालकको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको डिएसपी गौतमले जानकारी दिए ।

उनका अनुसार बालकको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित भई नदी क्षेत्रमा खोजतलास गरिरहेको छ । हालसम्म बालकको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेकाले थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने डिएसपी गौतमले बताएका छन् ।






