काठमाडौँ — नेपालको अर्थतन्त्रमा निजी क्षेत्र, उद्योग, बैंकिङ तथा उद्यमशीलताका माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्दै १८औं ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। कर्पोरेट मिडिया ग्रुपले बिहीबार राजधानीको होटेल र्‍याडिसनमा आयोजना गरेको विशेष समारोहमा २९ व्यक्ति तथा संस्थालाई विभिन्न विधामा पुरस्कृत गरिएको हो।

कार्यक्रममा वरिष्ठ व्यवसायी एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्र वीर मालाकारलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित गरिएको छ। राष्ट्र निर्माण र व्यावसायिक नेतृत्वमा उनको योगदानको कदर गर्दै उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।

त्यस्तै, ‘कर्पोरेट बिजनेश लिडरसिप’ विधामा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरू दिल सुन्दर श्रेष्ठ र नरेश लाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा रेबानका अध्यक्ष सङ्घर्ष विष्ट सम्मानित भएका छन्। ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’ तर्फ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्र कुमार उप्रेती र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्की लगायत सम्मानित भए।

बैंकिङ तथा इन्स्योरेन्सतर्फ नबिल बैंक, गरिमा विकास बैंक, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नबिल इन्भेष्टमेन्ट बैंकिङ र आईसीएफसी फाइनान्सले उत्कृष्ट संस्थाको अवार्ड प्राप्त गरे। साथै, ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ अन्तर्गत विभिन्न क्षेत्रका १२ उत्कृष्ट उद्यमी तथा कम्पनीहरूलाई सम्मान गरिएको थियो।

कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग पराक्रम शाहका अनुसार कार्यक्रममा व्यावसायिक क्षेत्रका प्रख्यात व्यक्तित्वहरूले देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रका चुनौतीका विषयमा गहन छलफलसमेत गरेका थिए। समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, विभिन्न सांसद, अर्थशास्त्री र उद्योगी–व्यवसायीहरूको उपस्थिति रहेको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर