काठमाडौँ — प्रहरी कर्मचारीको पोसाक खरिद प्रक्रियामा हुने गरेको अनियमितता र भ्रष्टाचारलाई न्यूनीकरण गर्न सरकारले पोसाक खर्चबापत सिधै नगद रकम उपलब्ध गराउने तयारी गरेको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री सुधन गुरुङले पोसाक खरिदमा हुने टेन्डर प्रक्रियामा भ्रष्टाचारका गुनासा बढेपछि सरकारले यस्तो निर्णय लिन लागेको जानकारी दिए। हालसम्म प्रहरी प्रधान कार्यालयमार्फत एकीकृत रूपमा टेन्डर आह्वान गरी पोसाक खरिद गरिँदै आएकोमा अबदेखि सो प्रणाली खारेज गरेर पोसाक भत्ताका रूपमा सम्बन्धित प्रहरीलाई नै नगद दिने तयारी भइरहेको उनले बताए।

‘प्रहरीको पोसाक खरिदमा टेन्डर प्रक्रियामार्फत व्यापक भ्रष्टाचार हुने गरेको पाइएको छ,’ गृहमन्त्री गुरुङले सदनमा भने, ‘त्यसलाई रोक्न र पारदर्शी बनाउन अब टेन्डरको साटो नगदै दिने व्यवस्था गर्न लागिएको हो।’ सरकारको यो कदमले प्रहरीको पोसाक व्यवस्थापनलाई थप व्यवस्थित र भ्रष्टाचारमुक्त बनाउने अपेक्षा गरिएको छ।






