सर्लाही — ईश्वरपुर नगरपालिका–१५ मा जग्गा विवादका क्रममा सवारी साधन तोडफोड र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

अदालतबाट आफ्नो हकभोगको जग्गामा भोगचलन गर्न आदेश पाएका कालिका उप्रेती सोही जग्गामा जाँदा केही व्यक्तिले अवरोध पुर्‍याएका थिए। सोही विषयमा छलफलका लागि इलाका प्रहरी कार्यालय केशरगञ्ज पुगेका बेला उप्रेतीको सवारी साधन तोडफोड भएको थियो। घटनापछि उग्र बनेको समूहले प्रहरी कार्यालय परिसरमै पुगेर ढुंगामुढा गर्नुका साथै कार्यालयको मुख्य गेट तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ घर भई हाल ईश्वरपुर–१५ सुकनाहा बस्ने ३२ वर्षीय विनोद कडेरिया, सोही स्थानका ६२ वर्षीय जयप्रसाद गौतम र उनका ३६ वर्षीय छोरा उज्ज्वल गौतम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध आपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर