बुटवल — नेकपा एमालेले लुम्बिनी प्रदेशमा आयोजना गरेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा नेतृत्व परिवर्तनको विषयले विशेष चर्चा पाएको छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गृह प्रदेशका रूपमा रहेको लुम्बिनीमा पार्टीका तल्लो तहदेखि माथिल्लो तहसम्मै व्यापक पुनर्गठनको माग उठेको छ।
कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित छलफलमा सहभागी अधिकांश नेता तथा कार्यकर्ताहरूले पार्टीको खस्किँदो अवस्थाका लागि वर्तमान नेतृत्व जिम्मेवार रहेको भन्दै नेतृत्व परिवर्तनको आवश्यकतामा जोड दिएका हुन्। छलफलमा सहभागी करिब ६० प्रतिशत नेताले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिँदा मात्र पार्टीमा नयाँ रक्तसञ्चार र पुनर्जागरण सम्भव हुने धारणा राखेका छन्। विशेष गरी रुपन्देही, पाल्पा र नवलपरासीका नेताहरूले नेतृत्व परिवर्तनको मागलाई स्पष्ट रूपमा उठाएका छन् भने अन्य केहीले भने सचिवालयका सम्पूर्ण सदस्यहरू नै जिम्मेवार रहेको भन्दै समग्र सचिवालयको पुनर्गठन हुनुपर्ने माग गरेका छन्।

सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ सहितका केन्द्रीय नेताहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा सहभागीहरूलाई धारणा राख्न ३ मिनेटको समय दिइएको थियो। कार्यदलले असार तेस्रो साताभित्र सातवटै प्रदेशमा पुगेर यस्तै सुझाव संकलन गर्ने तयारी गरेको छ।
यता, नेतृत्व परिवर्तनको बढ्दो दबाबबीच एमाले अध्यक्ष ओलीले भने यसलाई ‘बेमौसमी बहस’ को संज्ञा दिएका छन्। सचिव महेश बस्नेतका अनुसार अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्व वैधानिक प्रक्रियाबाट मात्र परिवर्तन हुने संगठनात्मक परम्परा स्मरण गराउँदै नेतृत्व परिवर्तनको विषयले पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
अध्यक्ष ओलीले हाल नेतृत्व परिवर्तनभन्दा पनि पार्टी एकता, सुदृढीकरण र प्रभावकारी पुनर्गठन नै अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै कार्यकर्ताहरूलाई खुलस्त धारणा राख्न आग्रह गरेका थिए। एमालेभित्र अहिलेको संगठनात्मक अवस्था सुधारका लागि नेतृत्वको विकल्प खोज्ने र वैधानिक मार्गबाटै नेतृत्व निरन्तरता दिनुपर्ने दुई धार देखिएको छ।






