काठमाडौँ — नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभाग र कोशीको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। मधेस र लुम्बिनीका पहाडी भेगमा पनि आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भूभागमा मौसम सफा रहनेछ।

वर्षासँगै तराईका जिल्लाहरूमा गर्मीको प्रकोप कायमै रहने देखिएको छ। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (लु) तथा बागमती र गण्डकीका तराई भूभागमा अत्यधिक गर्मी (तातो दिन) को सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा भने एक–दुई स्थानमा मात्रै वर्षाको अनुमान गरिएको छ। तराईका अधिकांश भूभागमा भने रातिको समयमा मौसम सफा रहनेछ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर