एसपी यादव/सर्लाही, जेठ ६ गते । एभिन्युज टेलिभिजनका सर्लाही सम्बादाता पत्रकार बख्तियार अलीलाई गालीबेइज्जती तथा धम्की दिएको आरोपमा मलंगवा नपा-१० स्थित स्तुति सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा बुधबार पक्राउ परेका छन् ।

समाचार लेखेको विषयलाई लिएर डा. झाले पत्रकार अलीमाथि पटक-पटक अभद्र व्यवहार, गालीबेइज्जती तथा धाकधम्की दिँदै आएको आरोप छ । सोही विषयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

प्राप्त जानकारीअनुसार, गत वर्ष फागुन ५ गते डा. झाले सञ्चालन गरेको स्तुति सौम्य हेल्थ केयर क्लिनिकमा विष्णु गाउँपालिका-६ निवासी विपन्न दलित परिवारका ३ महिने बालक अभि बैठाको उपचारका क्रममा मृत्यु भएको थियो । आरोप अनुसार बालकको मृत्यु भएपछि क्लिनिक सञ्चालक डा. झाले मृतक बालकका अभिभावकसँग उपचार खर्च बुझाउन दबाब दिएको तथा दिनभर शव र परिवारलाई क्लिनिकमै रोकेर राखेको दाबी गरिएको छ ।

उक्त घटनाबारे जानकारी पाएपछि पत्रकार अली क्लिनिकमा पुगेर समाचार संकलन तथा प्रकाशन गरेका थिए । त्यसयता डा. झाले समाचार हटाउन दबाब दिँदै आएको र सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरी गाली गरेको तथा फोनमार्फत डर-त्रास देखाउने कार्य गरेको आरोप पत्रकार अलीको छ ।

धम्की र दुर्व्यवहार बढेपछि पत्रकार अलीले यसबारे नेपाल पत्रकार महासंघलाई जानकारी गराएका थिए । त्यसपछि महासंघको सर्लाही शाखा र नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरेको छ । महासंघले कुनै समाचारप्रति असहमति भए कानुनी तथा संवैधानिक व्यवस्था अनुसार प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने उल्लेख गर्दै समाचार लेखेकै आधारमा पत्रकारमाथि धम्की, अभद्र व्यवहार र दबाब सिर्जना गर्नु अस्वीकार्य भएको जनाएको छ ।

महासंघको विज्ञप्तिमा नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै समाचारका विषयमा पत्रकारलाई धम्क्याउने वा डर-त्रास देखाउने कार्य संविधानविपरीत हुने उल्लेख गरिएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर