काठमाडौँ, ३ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिद्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव स्वास्थ्यका लागि अनुपयुक्त र गुणस्तरहीन फेला पारेको छ। विभागले उक्त आइसक्रिमको बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारमा गइसकेका सामान तुरुन्त फिर्ता लिन (रिकॉल) निर्देशनसमेत दिएको छ।

बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त आइसक्रिमको नमुना केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा मापदण्डविपरीत हानिकारक जीवाणुहरू भेटिएका हुन्। विभागका अनुसार परीक्षणका क्रममा आइसक्रिममा ‘टोटल ब्याक्टेरिया काउन्ट’, ‘कोलिफर्म काउन्ट’ र ‘इन्टेरोब्याक्टेरिएसी काउन्ट’ जस्ता सूक्ष्म जीवाणुहरूको उपस्थिति तोकिएको सीमाभन्दा अत्यधिक बढी पाइएको छ। यस्ता ब्याक्टेरियाले मानव स्वास्थ्यमा गम्भीर संक्रमण र असर पुर्‍याउन सक्ने खाद्य विज्ञहरूले जनाएका छन्।

पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरीको ब्याच नम्बर सीओ२ (C02) रहेको १ हजार मिलिलिटर (१ लिटर) को आइसक्रिममा यो कैफियत भेटिएको हो। उक्त ब्याचको उत्पादन मिति १९ साउन २०८२ उल्लेख छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा २ र ४ बमोजिम उक्त ब्याचका सम्पूर्ण उत्पादनहरू बिक्री वितरण नगर्न र नगराउन उत्पादक तथा वितरकलाई कडा निर्देशन दिएको छ। साथै, उपभोक्ताहरूलाई समेत स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त ब्याचको आइसक्रिम उपभोग नगर्न विभागले सचेत गराएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर