सिरहा, ३ जेठ । सिरहाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान लोड गरिएको एक थान ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रबाट शनिबार राति सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय सिरहाका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक (SP) सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस्ती टोलीले राति करिब ८:४५ बजे उक्त सफलता पाएको हो। विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा सामान लैजाँदै गरेको स.१ ख.५३५ नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सिरहाको नवराजपुर गाउँपालिका–५ का ५० वर्षीय राजेशकुमार यादव र सोही स्थानका ३५ वर्षीय आनन्द यादव रहेका छन्। बरामद गरिएको ट्रकभित्र भन्सार छली भारत लैजान लागिएका विभिन्न प्रकारका कस्मेटिक सामग्री, दन्त मन्जन (टुथपेष्ट) र ओखरलगायतका सामानहरू फेला परेका छन्।

पक्राउ परेका व्यक्ति, सामान र ट्रकसहितको अनुमानित मूल्याङ्कन करिब ४० लाख रुपैयाँ कायम गरिएको छ। नियन्त्रणमा लिइएका दुवै जना र बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि मूल भन्सार कार्यालय माडरमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर