काठमाडौँ । मध्यपूर्वमा तनावको पारो फेरि एकपटक ह्वात्तै बढेको छ। इरानले अमेरिकी सेनामाथि समुद्रमा तेल ट्यांकर कब्जा गर्ने प्रयास गरेको र नागरिक क्षेत्रमा हवाई आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। इरानले यसलाई ‘युद्धविरामको उल्लंघन’ भन्दै अब विनाहिचकिचाहट कडा जवाफ दिने चेतावनी दिएको छ।
के हो घटना?
इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी सेनाले समुद्री डाकुको शैलीमा इरानी तेल ट्यांकरलाई निसाना बनाएको दाबी गरेको छ।

स्थान १: जास्क नजिकै इरानी जलक्षेत्रबाट होर्मुज स्ट्रेटतिर जाँदै गरेको तेल ट्यांकरमा आक्रमण।
स्थान २: फुजैराह बन्दरगाहनजिकै होर्मुज प्रवेश गर्ने अर्को जहाजमा पनि आक्रमण गरिएको दाबी।
नागरिक क्षेत्रमा हवाई आक्रमणको दाबी
इरानी प्रवक्ताका अनुसार अमेरिकी सेनाले केवल समुद्रमा मात्र होइन, तटीय नागरिक क्षेत्रहरूमा पनि हवाई आक्रमण गरेको छ। केही क्षेत्रीय देशहरूको समर्थनमा बन्दर खामिर, सिरिक र केस्म टापुका तटीय बस्तीहरूलाई निसाना बनाइएको इरानको आरोप छ।
इरानको चेतावनी
इरानले यस घटनालाई ‘आतंककारी’ र ‘समुद्री डाकु’को संज्ञा दिँदै कडा शब्दमा भर्त्सना गरेको छ। प्रवक्ताले भनेका छन्, “अब हामी कुनै पनि ढिलाइ नगरी यसको कडा र उचित जवाफ दिनेछौँ।”






