सुनसरी । सुनसरीको इनरुवास्थित कोशी प्रदेश प्रहरी अस्पतालसँगको प्राविधिक सहकार्यमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुनसरीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविरमा दक्ष तथा वरिष्ठ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।
शिविरमा विशेषगरी दन्त, मुख तथा अनुहारसम्बन्धी समस्या, जनरल फिजिसियन सेवा, हाडजोर्नी (अर्थोपेडिक), छाती र मधुमेह रोगको विस्तृत परीक्षण गरिएको थियो। यसका साथै आधुनिक प्रविधिमार्फत भिडियो एक्सरे, इसिजी (ECG), ल्याब परीक्षण र उच्च रक्तचापको जाँच समेत गरिएको गणले जनाएको छ।

स्वास्थ्य परीक्षणका क्रममा आवश्यक देखिएका प्रहरी कर्मचारीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो। उपचार सेवाका अतिरिक्त शिविरमा प्राथमिक उपचार सम्बन्धी विशेष अनुशिक्षण कक्षा समेत सञ्चालन गरिएको थियो, जसले कार्यक्षेत्रमा आइपर्ने आकस्मिक स्वास्थ्य समस्या समाधानमा प्रहरीलाई थप सहयोग पुग्ने विश्वास लिइएको छ।






