काठमाडौं । मुलुकका तीन प्रभावशाली पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि राज्यका संयन्त्रले औपचारिक रूपमा छानबिन प्रक्रिया अगाडि बढाएका छन्। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आर्जित सम्पत्तिको स्रोत र वैधतामाथि अनुसन्धान सुरु भएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई आवश्यक छानबिनका लागि पत्राचार गरेसँगै यो प्रक्रियाले नयाँ मोड लिएको छ। विभागको सोही निर्देशन र पत्राचारका आधारमा सीआईबीले आफ्नो सक्रियता बढाएको हो। यसै सिलसिलामा आइतबार नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीआईबीका अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीले खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका क्रममा पक्राउ गरिएको पुष्टि गरेका छन्।

पूर्वप्रधानमन्त्रीहरूको हकमा भइरहेको अनुसन्धानबारे प्रहरी नेतृत्वले आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक नगरे पनि गृह मन्त्रालय सम्बद्ध स्रोतका अनुसार उनीहरूको सम्पत्ति विवरण र स्रोतका बारेमा सीआईबीले सूक्ष्म अध्ययन थालिसकेको छ।
यसअघि भएको ‘जेनजी’ आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री देउवाको निवासमा ठूलो परिमाणमा नगद फेला परेको भन्दै प्रश्न उठेको थियो। सोही समयमा सम्पत्ति शुद्धीकरण विभागले देउवा निवास पुगेर मुचुल्का समेत तयार पारेको थियो। त्यसैगरी, पूर्वप्रधानमन्त्री ओलीको निवास र प्रचण्डपुत्री गंगा दाहालको निवासमा समेत पुगेर विभागले प्रारम्भिक स्थलगत मुचुल्का उठाएर अनुसन्धानको दायरा फराकिलो बनाएको थियो। अहिले विभागको पछिल्लो पत्राचारसँगै सीआईबीले पुरानै फाइलहरूलाई सक्रिय बनाउँदै अनुसन्धानको गतिलाई तीव्रता दिएको बुझिएको छ।






