काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्राउलाई नवगठित सरकारको प्रतिशोधपूर्ण कदमको रूपमा चित्रण गरेका छन्। शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट पक्राउ परेका ओलीले आफूविरुद्ध पूर्वाग्रह राखिएको दाबी गर्दै यसका विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन्।
प्रहरीले ओलीलाई पक्राउ गर्न शुक्रबार रातिदेखि नै उनको निवास घेराउ गरेको थियो। पक्राउ पुर्जीसहित प्रहरी टोली पुगेपछि ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग कानुनी परामर्श गरेका थिए। परामर्शका क्रममा उनले भने, “यो पक्राउ प्रतिशोध र पूर्वाग्रहपूर्ण छ, म यसविरुद्ध कानुनी लडाइँ लड्छु।”

अधिवक्ता टिकाराम भट्टराईले पनि ओलीको पक्राउ प्रक्रियालाई गैरकानुनी भन्दै कडा आपत्ति जनाएका छन्।
पक्राउको कारण: गत भदौ २३ गते भएको ‘जेनजी’ (Gen Z) आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोग ओलीमाथि लगाइएको छ। उनलाई पक्राउ लगत्तै काठमाडौँ प्रहरी परिसर, भद्रकाली पुर्याइएको छ।






