काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आगामी चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित नवनिर्मित संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।
सचिवालयका अनुसार निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ । उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्नेछ ।

सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ । नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको सचिवालयले जनाएको छ । यस्ता सदस्यहरूले शपथको ब्यहोरालाई आफ्नो मातृभाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रमभन्दा तीन दिन अगावै संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउनुपर्नेछ ।
सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको सूचनामा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आ–आफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई यसबारे जानकारी गराई समन्वय गरिदिन अनुरोध गरिएको छ ।







