एसपी यादव/सर्लाही, चैत ५ गते । सर्लाहीको मलंगवा नगरपालिका-२ स्थित नासी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

सर्लाहीको कौडेना गाउँपालिका-२ इनर्वा निवासी स्व. जय नारायण रायका छोरा २८ वर्षीय प्रेम कुमार यादवको मृत्यु भएको हो ।

बिहीबार दिउँसो करिब २ बजे एक पुरुष पोखरीमा डुबेको खबर प्राप्त भएपछि सुरक्षा निकायको टोली घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार, सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामसोगाराथ यादवको कमाण्डमा १० जना, सुरक्षा बेस मलंगवाबाट उप-सेनानी जहेन्द्र सिंह ठगुनाको कमाण्डमा ११ जना तथा सशस्त्र प्रहरी बल बीओपी खुटौनाबाट प्रहरी सहायक निरीक्षक प्रदीप सिंहको कमाण्डमा १४ जनाको संयुक्त टोली खटिएको थियो । सो टोलीले साँझ करिब ५:२५ बजे शव पोखरीबाट बाहिर निकालेको हो । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक बिन्देश्वर यादवको कमाण्डमा फरेन्सिक टोलीसमेत परिचालन गरिएको उनले बताए ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी गराएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर