राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बिहीबार कार्यालय समयमा आकस्मिक छड्के अनुगमन गरेका छन्। अनुगमनका क्रममा कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित २५ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ।
बिहीबार बिहान साढे १० बजेको समयमा गाउँपालिका कार्यालय पुग्दा ठूलो संख्यामा कर्मचारीहरू कार्यकक्षमा नभेटिएपछि अध्यक्ष यादवले हाजिरी पुस्तिका नियन्त्रणमा लिएका थिए। गाउँपालिकामा कार्यरत कुल ६० जना कर्मचारीमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डलसहित २५ जना तोकिएको समयमा कार्यालय नआएको पाइएको हो। कार्यालय समय सुरु भएको आधा घण्टा बितिसक्दा पनि अनुपस्थित रहेका ती कर्मचारीहरूको हाजिरीमा अध्यक्ष यादवले रातो कलम लगाइदिएका छन्।

पछिल्लो समय सेवाग्राहीहरूले कार्यालय समयमा कर्मचारी नभेटिने र काममा ढिलासुस्ती हुने गरेको गुनासो बारम्बार गर्न थालेपछि आफूले छड्के अनुगमन गरेको अध्यक्ष यादवले जानकारी दिए। स्थानीय सरकारले जनतालाई दिने सेवा प्रवाहलाई चुस्त बनाउन र अनुशासन कायम गर्न यस्तो कदम चालिएको उनले बताए। अनुपस्थित कर्मचारीहरूलाई स्पष्टीकरण सोध्ने र नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने तयारी समेत गाउँपालिकाले गरेको छ।






