एसपी यादव/सर्लाही, चैत ५ गते । सर्लाहीको बागमती नगरपालिकामा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बिहीबार बिहान करिब ९ बजे बागमती नगरपालिका-२ सानो डाबरीस्थित एनसेल टावर नजिक भित्री सडक खण्डमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको स्कुल बसले स्थानीय श्याम गोलेका करिब २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी गराएका छन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ढुङ्ग्रेखोलाबाट प्रहरी सहायक निरीक्षक सनीदेवल साहको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालक सर्लाही हरिवन नगरपालिका-११ प्रगति टोल निवासी करिब ५० वर्षीय सूर्य बहादुर थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको जनाएको छ । भने मृतकको शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।






