उदयपुर । आइतबारको दिन सामान्य रहे पनि साँझपख अचानक बदलिएको मौसमले कटारी क्षेत्रलाई अस्तव्यस्त बनायो। वर्षासँगै आएको तीव्र गतिको हावाले रूखहरू ढाल्दा र संरचनाहरूमा क्षति पुर्याउँदा मानवीय हताहती भएको हो।
रुख ढल्दा खाजा घरमा भएको क्षति
कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिकै रहेको एउटा खाजा घरमा हुरीले सुकेको सालको रुख ढल्न पुग्यो। टिनको छाना र काठले बनेको सो घरमा बसिरहेका ६४ वर्षीय वीरेन्द्र चौधरीको रुखले थिचिएर घटनास्थलमै मृत्यु भयो। सोही स्थानमा रहेका अन्य पाँच जना घाइते भएका छन्, जसमध्ये ४ वर्षीया बालिका बिनिशा चौधरीलाई प्रहरी र स्थानीयको झण्डै ४० मिनेट लामो प्रयासपछि जीवितै उद्धार गरिएको थियो।

घाइते हुनेहरूमा युवराज कार्की, लीला बहादुर दनुवार, प्रेमचन्द्र दनुवार र अस्मिता परियार छन्। उनीहरूमध्ये टाउकोमा गम्भीर चोट लागेका लीला बहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको प्रादेशिक अस्पताल कटारीमा उपचार जारी छ।
खसी-बाख्रा सार्दै गर्दा मिनामायाको निधन
यस्तै, कटारी–८ की मिनामाया तामाङको पनि सोही हुरीका कारण ज्यान गएको छ। घरमा रहेका खसी-बाख्रा सुरक्षित स्थानमा सार्ने प्रयास गर्दै गर्दा हावाले भाँचिएको रुखको हाँगाले उनलाई लागेको थियो। गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी केदारमान दोङका अनुसार सुरक्षा निकाय र स्थानीयवासीले उद्धार कार्यमा सक्रियता देखाएका थिए। यस्ता प्राकृतिक विपद्ले सुरक्षा सतर्कता र भौतिक संरचनाको मजबुतीबारे पुनः सोच्न बाध्य बनाएको छ।






