विराटनगर। राजवंशी चोकमा रहेको सिटिजन्स बैंकको कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पाइएको हो। बैंकले गरेको ‘सरप्राइज अडिट’का क्रममा ऋण लगानीमा शंका लागेपछि गरिएको आन्तरिक छानबिनले नक्कली ऋणी खडा गरी रकम निकालिएको पुष्टि गरेको छ।

कसरी भयो कैफियत?
बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार, चाडपर्वको समय पारेर ऋणको प्रक्रिया अघि बढाइएको देखिन्छ। ऋणको किस्ता नियमित आउन छाडेपछि बैंकले सूक्ष्म अध्ययन गर्दा अधिकारको दुरुपयोग गरी ‘फेक लोन’ सिर्जना गरिएको भेटिएको थियो। यस प्रकरणमा शाखा कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेलको मुख्य भूमिका देखिएको बैंकको दाबी छ।

कँडेलले अन्य कर्मचारीको ‘युजर आईडी’ प्रयोग गरी अनधिकृत रूपमा ऋण स्वीकृत गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बैंकले यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइसकेको छ।

७ करोडको धितो र आन्तरिक खिचातानी
रोचक कुरा के छ भने, प्रहरीमा उजुरी दिनुअघि नै बैंकले मुख्य आरोपित भनिएकी रोजी कँडेलको परिवारबाट ७ करोड रुपैयाँ बराबरको जग्गा धितोका रूपमा रोक्का राखिसकेको छ। बैंक स्रोतका अनुसार, हिनामिना भएको रकम असुलउपर गर्ने सुनिश्चितता गरेपछि मात्र बैंक प्रशासन प्रहरीकहाँ पुगेको थियो।

यता, आरोपित रोजी कँडेलले भने आफूलाई मात्रै दोषी देखाएर अन्य कर्मचारीलाई जोगाउन खोजिएको दाबी गरेकी छन्। उनले पनि बैंक प्रशासन विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन्। कँडेल निकट स्रोतका अनुसार बैंकले उनलाई मात्र ‘टार्गेट’ बनाएर फसाउन खोजेको छ।

प्रहरी अनुसन्धान र पुरानो रेकर्ड
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले बैंक र कर्मचारी दुवैका तर्फबाट निवेदन परेको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। प्रहरीले थप कागजातका लागि बैंकलाई पत्राचार गरिसकेको छ।

सिटिजन्स बैंकको यो शाखामा ऋण अपचलन भएको यो पहिलो घटना भने होइन। करिब ५ वर्षअघि पनि तत्कालीन शाखा प्रमुख रुपेश राजवंशीको पालामा यस्तै प्रकृतिको घटना भएको थियो। तर, त्यसबेला बैंकले प्रहरीमा जाहेरी नदिई आन्तरिक रूपमै टुङ्ग्याएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर