एसपी यादव/सर्लाही, फागुन ३० गते । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार, मिति २०८२ फागुन २८ गते राति करिब ११ बजे प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका-१२ पत्थरकोटदेखि जियाजोरतर्फ जाने सडकखण्डमा सवारी साधन तथा पैदल यात्रुको चेकजाँच गरिरहेको थियो । सोही क्रममा लालबन्दी नगरपालिका-११ बाहुनीटोल बस्ने लालबहादुर तामाङका २१ वर्षीय छोरा सोम तामाङले चलाउँदै आएको बा ४७ प ८६६४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको पछाडिको सिटमा बाँधिएको कालो झोलाभित्र लुकाई-छिपाई राखिएको अवस्थामा १० किलो ४१४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त गाँजासहित तामाङलाई नियन्त्रणमा लिई लागुऔषध गाँजा शीर्षकमा मुद्दा दर्ता गरेको छ । यस सम्बन्धमा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी गराएका छन् ।






