एसपी यादव/सर्लाही, फागुन २७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ सर्लाहीको निर्वाचन समीक्षा बैठक सम्पन्न भएको छ ।
निर्वाचन परिचालन समितिद्वारा आयोजित उक्त बैठक मंगलबार मलंगवा स्थित निर्वाचन परिचालन समितिको कार्यालयमा सम्पन्न भएको हो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ सर्लाहीबाट उम्मेदवार रहेका महेन्द्र राय यादवले, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र अवस्था, मत परिणाम, चुनावी अभियान तथा संगठनात्मक गतिविधिबारे विस्तृत समीक्षा गरिएको जानकारी दिए । साथै आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको उनले बताए ।

बैठकले निर्वाचनबाट प्राप्त अनुभवलाई आत्मसात गर्दै आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।
बैठकमा निर्वाचन क्षेत्रभित्रका पार्टीका नेता, पालिका तथा वडा स्तरका संयोजक र कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।
सर्लाही निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतो ४२ हजार ५१२ मत प्राप्त गर्दै विजयी भएका हुन । भने नेकपाका उम्मेदवार महेन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी (दोस्रो) भएका थिए ।






