विराटनगर, २२ फागुन प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङका ६ निर्वाचन क्षेत्रमध्ये ५ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी वर्चस्व कायम गरेको छ। परम्परागत शक्ति मानिएका नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरूलाई पछि पार्दै रास्वपाका उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका हुन्।
प्रमुख क्षेत्रहरूको ताजा अवस्था:
-
क्षेत्र नं. ६: शेखर कोइराला पछि परे सबैभन्दा चर्चामा रहेको क्षेत्र नं. ६ मा रास्वपाकी रूविना आचार्यले ३,४२३ मतसहित अग्रता लिएकी छन्। उनलाई पछ्याइरहेका कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले ७२८ मत मात्र प्राप्त गरेका छन् भने एमालेका विनोद ढकाल ६२७ मतका साथ तेस्रो स्थानमा छन्।

-
क्षेत्र नं. ५: आशा झाको फराकिलो अग्रता रास्वपाकी आशा झा ३,९७९ मतसहित अगाडि छन्। उनलाई जसपा नेपालका राजकुमार यादव (१,३६६ मत) र नेकपाका शिवकुमार मण्डल (१,२८६ मत) ले पछ्याइरहेका छन्।
-
क्षेत्र नं. ४: सन्तोष राजवंशीको ‘क्रेज’ यहाँ रास्वपाका सन्तोष राजवंशीले ११,५६४ मतसहित निकै बलियो अग्रता बनाएका छन्। दोस्रो स्थानमा रहेका कांग्रेसका गुरुराज घिमिरेको पक्षमा २,६४८ मत मात्रै खसेको छ।
-
क्षेत्र नं. २ र १: घण्टीकै दबदबा क्षेत्र नं. २ मा रास्वपाका कृष्ण कार्की (१,१६७ मत) ले एमालेका दिलीपकुमार अग्रवाल र कांग्रेसका मिनेन्द्र रिजाललाई पछि पारेका छन्। त्यस्तै, क्षेत्र नं. १ मा रास्वपाका यज्ञमणी न्यौपाने ४,१२६ मतसहित शीर्ष स्थानमा छन्।
क्षेत्र नं. ३: जहाँ ‘श्रम संस्कृति’ को उदय
मोरङका अन्य क्षेत्रमा रास्वपा हावी हुँदा क्षेत्र नं. ३ मा भने फरक दृश्य देखिएको छ। यहाँ श्रम संस्कृति पार्टीका अमिर मगर ५५४ मतसहित अग्रता लिइरहेका छन्। कांग्रेसका सुनिल शर्मा (३३६ मत) र रास्वपाका गणेश कार्की (२९५ मत) क्रमशः दोस्रो र तेस्रो स्थानमा संघर्षरत छन्।
मोरङको यो मतपरिणामले स्थापित दलहरूलाई ठूलो धक्का दिएको छ भने मतदाताले नयाँ अनुहार र विचारलाई प्राथमिकता दिएको प्रष्ट संकेत गरेको छ।






