सर्लाही)– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका सबै मतदान केन्द्रहरूमा निर्वाचन टोली पुगेको छ। जिल्लाका कुल ३१२ मतदानस्थल र ६२८ मतदान केन्द्रमा आवश्यक चुनावी सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेर मतदानको अन्तिम तयारी सुरु गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलका अनुसार मतपत्र, मतपेटिका लगायतका ५० भन्दा बढी प्रकारका सामग्री बोकेर टोलीहरू कार्यक्षेत्रमा पुगिसकेका छन्। निर्वाचन सम्पन्न गराउन जिल्लाभर करिब ३ हजार ७०० कर्मचारी खटिएका छन्। निर्वाचन टोलीले केन्द्रमा पुगेलगत्तै मतदानस्थल निर्माण र सर्वदलीय बैठकको तयारीलाई तीव्रता दिएका छन्।

यस पटक सर्लाहीका चारवटा निर्वाचन क्षेत्रबाट ५ लाख ११ हजार ६०६ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। मतदाताको ठुलो सङ्ख्या र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा विशेष कडाइ गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले सुरक्षा संवेदनशीलताको सूक्ष्म विश्लेषण गरी सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरिएको जानकारी दिए।

सुरक्षा समितिले मतदानलाई निष्पक्ष र भयरहित बनाउन विशेष योजना अन्तर्गत गस्ती र निगरानी बढाएको छ। मतदान केन्द्रको आन्तरिक व्यवस्थापनका लागि खटिएका टोलीले स्थानीयस्तरमा समन्वय गरिरहेका छन्। जिल्ला प्रशासनले निर्वाचन आचारसंहिता पालना गर्न र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन सबैमा आग्रह गरेको छ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर