सिरहा – निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा सिरहा क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। मंगलबार मध्यरातमा सिरहा सदरमुकामको शिवचोकमा गरिएको सवारी चेकजाँचका क्रममा यादवलाई ठुलो परिमाणमा नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा सवार यादवलाई राति साढे १२ बजेतिर रोकेर खानतलासी गरिएको थियो। सो क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको छ। प्रहरीले उम्मेदवार यादवसँगै गाडीमा रहेका अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिएको छ। बरामद नगदको स्रोत नखुलेको र गाडीभित्र केही थान मतपत्र समेत फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ।

पक्राउ परेका उम्मेदवार र अन्य व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरूलाई थप कानुनी कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मौन अवधिमा मतदाता प्रभावित पार्न नगद बोकेर हिँडेको आशङ्कामा उनीहरूमाथि अनुसन्धान केन्द्रित गरिएको छ।

यसैगरी, पर्सा क्षेत्र नम्बर २ मा पनि निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन्। निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरू नै धमाधम पक्राउ पर्न थालेपछि सुरक्षा निकायले निगरानी थप कडा बनाएको छ। निर्वाचन आयोगले मौन अवधिमा हुने यस्ता गैरकानुनी चलखेल रोक्न र स्वच्छ निर्वाचन सुनिश्चित गर्न स्थानीय प्रशासनलाई कडा निर्देशन दिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर