सर्लाही, फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएसँगै मतदाता प्रभावित पार्न रकम बाँड्दै हिँडेका एक व्यक्तिलाई सर्लाहीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने हरिपुर्वा नगरपालिका–२ मा मंगलबार राति ११ बजेतिर ६५ वर्षीय पुरुषोत्तम यादवलाई नगदसहित पक्राउ गरिएको हो।

सशस्त्र प्रहरी टोलीले यादवको साथबाट २५ हजार रुपैयाँ नगद र स्थानीय मतदाताहरूको नामावली समावेश भएको एउटा सूची समेत बरामद गरेको छ। सार्वजनिक भएको एक भिडियोमा यादवले पैसा गन्दै गरेको देखिन्छ भने प्रारम्भिक सोधपुछका क्रममा उनले आफू राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं सर्लाही–२ का उम्मेदवार राजेन्द्र महतोको कार्यकर्ता भएको बताएका छन्।

निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको देखिएपछि सशस्त्र प्रहरीले यादवलाई थप कानुनी कारबाहीका लागि नेपाल प्रहरीको टोलीलाई जिम्मा लगाएको छ। हरिपुर्वा नगरपालिकामा खटिएका प्रहरी निरीक्षक विकास कुमार धामीको टोलीले राति ११ः२० बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्न पैसाको चलखेल हुनुले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको छ। सर्लाही प्रहरीले घटनाको सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषीमाथि निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही अघि बढाइने जनाएको छ। सर्लाही प्रशासनले पनि निर्वाचनको पूर्वसन्ध्यामा हुने यस्ता गैरकानुनी गतिविधि रोक्न सुरक्षा निगरानी बढाइएको र आचारसंहिता मिच्ने जो कोहीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर