रुपनी (सप्तरी) – चुनावी ड्युटीका क्रममा रामेछापमा ज्यान गुमाएका सहायक प्रहरी निरीक्षक (असई) परशुराम यादवको मंगलबार साँझ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सप्तरीको रुपनी गाउँपालिका–१ नकटी रायपुरस्थित उनको निवासमा शव ल्याइएपछि राष्ट्रिय झण्डा र प्रहरीको सलामीसहित उनलाई अन्तिम बिदाइ गरियो।
मधेस प्रदेश प्रहरी अस्पताल रुपनीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्वर्गीय यादवको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाएर माल्यार्पण गर्नुका साथै शोक सलामी अर्पण गरेको थियो। उक्त भावुक क्षणमा उपस्थित सुरक्षाकर्मी र स्थानीयले मौन धारण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

अन्तिम श्रद्धाञ्जली सभामा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, जसपा नेता बलराम यादव, युवा नेता गजेन्द्र यादव, समाजसेवी भागवत यादव तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र इलाका प्रहरी कार्यालय रुपनीका प्रमुख गंगा चौधरीको उपस्थिति थियो। वक्ताहरूले यादवको निधनले नेपाल प्रहरी र रुपनी क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गरे।
श्रद्धाञ्जलीपछि यादवको पार्थिव शरीरलाई रुपनी बजार परिक्रमा गराई खाडो नदीको किनारमा लगिएको थियो। त्यहाँ हिन्दु परम्परा अनुसार १२ वर्षीय जेठा छोरा सुरज यादवले बुबाको शवमा दागबत्ती दिएका थिए। रामेछापको मतदान केन्द्रतर्फ जाने क्रममा सोमबार भएको सवारी दुर्घटनामा परेर यादवको मृत्यु भएको थियो। कर्तव्य पालनकै क्रममा प्राण उत्सर्ग गरेका यादवलाई गाउँलेले ‘सहिद’ को संज्ञा दिँदै उनको योगदानको चर्चा गरेका छन्।






