एसपी यादव/सर्लाही, फागुन १४ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहिवार अत्यन्त जरुरी सूचना जारी गर्दै निर्वाचन अवधिभर सर्लाहीमा विशेष सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न विशेष सुरक्षा व्यवस्था अवलम्बन गरिएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार, फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुईपाङ्ग्रे, चारपाङ्ग्रे लगायतका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । उक्त अवधिमा यस्ता सवारी साधन चलाएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने चेतावनी समेत दिइएको छ ।

यस्तै, मौन अवधिभर फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । साथै डिजे बाजा पूर्णरूपमा बन्द गरिएको छ, भने होली पर्वको नाममा जबरजस्ती रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ ।

मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवाका सवारी साधन एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षा निकायका सवारी साधन, विद्युत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन तथा पास प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।

फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म सवारी आवागमनमा कडाइ गरिने प्रशासनले जनाएको छ । उक्त आदेशको उल्लंघन गरी सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याउने जोकोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

निर्वाचन सफल बनाउन राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, होटल व्यवसायी लगायत सम्पूर्ण जिल्लावासीसँग सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर