एसपी यादव/सर्लाही, फागुन १३ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता तथा होली पर्वलाई लक्षित गर्दै विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

मंगलवार प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया द्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता तथा फागु पूर्णिमा (होली) पर्वलाई सुरक्षित, मर्यादित र सभ्य रूपमा मनाउने उद्देश्यले फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे, चार पाङ्ग्रे लगायतका सवारी साधन सञ्चालन गर्न नपाइने जनाइएको छ ।

सूचनामा उल्लेखित व्यवस्था उल्लंघन गरी सवारी सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने जनाइएको छ । साथै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थको बिक्री-वितरणमा समेत रोक लगाइएको छ । प्रशासनले मदिरा सेवन गरी सवारी चलाउने, जबर्जस्ती रंग दल्ने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नचाहिने रंग प्रयोग गर्ने, जथाभावी डिजे बजाउने तथा कसैको निजी जीवनमा असर पर्ने गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ ।

शान्ति-सुरक्षामा असर पर्ने गरी अवाञ्छित क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत सूचनामा दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सबैलाई सुरक्षाका मापदण्ड अपनाई सभ्य र मर्यादित ढंगले होली पर्व मनाउन अनुरोध गरेको छ । साथै रङ्ग अबिरको पर्व फागु पूर्णिमा (होलि) को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय सर्लाही परिवारले सम्पुर्ण जिल्लाबासीहरुमा हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर