पोखरा – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल कानुनी प्रमाणपत्र प्राप्त गर्ने माध्यममा मात्र सीमित हुन नहुने धारणा व्यक्त गर्नुभएको छ। पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले शैक्षिक योग्यतालाई व्यवहारिक जीवन र उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले वर्तमान विश्वको प्रतिस्पर्धामा खरो उत्रनका लागि शिक्षा प्रणालीमा परिमार्जन आवश्यक रहेको औँल्याउनुभयो। उहाँका अनुसार अबको शिक्षाले युवाहरूमा सीप विकास गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र उद्यमशीलतातर्फ प्रेरित गर्ने खालको हुनुपर्छ। नैतिकवान् जनशक्ति उत्पादन नगरेसम्म समाजको वास्तविक रूपान्तरण सम्भव नहुने उहाँको तर्क थियो।

समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयका हरेक शैक्षिक कार्यक्रमहरू राष्ट्रको अर्थतन्त्र बलियो बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। “यदि शिक्षाले आर्थिक समृद्धि र मानव कल्याणमा योगदान पुर्‍याउन सक्दैन भने त्यस्तो ज्ञान र पाठ्यक्रमको सान्दर्भिकता रहँदैन,” उहाँले भन्नुभयो। उहाँले नयाँ प्रविधिको विकास र अनुसन्धानमा आधारित प्राज्ञिक गतिविधिहरूलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

पछिल्लो समय उच्च शिक्षा हासिल गरेलगत्तै ठूलो संख्यामा युवा जनशक्ति विदेश पलायन भइरहेको प्रति प्रधानमन्त्रीले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। यो प्रवृत्ति राष्ट्रका लागि चुनौती बनेको उल्लेख गर्दै उहाँले बदलिँदो विश्व परिवेश अनुसार विद्यार्थीहरूलाई स्वदेशमै प्रतिस्पर्धी र सक्षम बनाउन विश्वविद्यालय र राज्य दुवैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर