दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा (एमाले) को झण्डा जलाउने कार्यमा आफ्ना कार्यकर्ताको कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेको छ। शुक्रबार रास्वपा दाङका सभापति विनय घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो।

पार्टीका केन्द्रीय सभापति रवि लामिछाने सुर्खेतको कार्यक्रम सकेर दाङ आउने क्रममा सडक किनारमा स्वतःस्फूर्त रूपमा स्वागतमा जुटेका शुभेच्छुकहरूको उत्साह देखेर अत्तालिएका तत्वहरूले भ्रम सिर्जना गरेको रास्वपाको ठहर छ। विज्ञप्तिमा भनिएको छ, “केही घुसपैठ र अवाञ्छित तत्वहरूले यो भ्रमपूर्ण वातावरण सिर्जना गरेका हुन्, जसमा हाम्रा कार्यकर्ताको कुनै हात छैन।”

रास्वपाले उक्त घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन सुरक्षा निकायसँग जोडदार माग समेत गरेको छ। सभापति घिमिरेका अनुसार रास्वपा विधिको शासन, सुसंस्कृत राजनीति र अहिंसाको मार्गमा विश्वास राख्ने शक्ति भएकाले यस्ता अनैतिक र अलोकतान्त्रिक क्रियाकलाप कदापि स्वीकार्य हुँदैनन्।

विवादित समाचारहरू सार्वजनिक भएपछि रास्वपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै घटनालाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर