काठमाडौं, १५ माघ । काठमाडौं उपत्यकासहित देशका तराई–मधेशका जिल्लाहरूमा बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ। हुस्सुले पारदर्शिता (भिजिबिलिटी) निकै कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकका विभिन्न विमानस्थलहरूबाट हुने हवाई उडान सेवा अवरुद्ध भएको छ।
बिहानको समयमा आन्तरिक उडान र अवतरण पूर्ण रूपमा रोकिएका छन्। विशेषगरी भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी लगायतका गन्तव्यमा हुने उडानहरू ‘डिले’ भएको विमानस्थल कार्यालयले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार परेको वर्षाका कारण वायुमण्डलमा चिस्यान बढेकाले बाक्लो हुस्सु लागेको हो। वाष्पीकरणको प्रक्रिया चलिरहँदा माथिल्लो वायुमण्डलको तापक्रम न्यून भएकाले पानीका सूक्ष्म कणहरू जमिनको सतह नजिकै थुप्रिएर कुहिरोको रूप लिएको मौसमविद्हरूको विश्लेषण छ।
मौसमविद् डा. धर्मराज उप्रेतीका अनुसार यो अवस्था आज र भोलि दुई दिनसम्म देखिने सम्भावना छ। “हिजोको वर्षापछि वायुमण्डलमा देखिएको यो बदलावले बिहानको समयमा कुहिरो बाक्लो हुने देखिएको छ,” उनले भने, “दिउँसो घाम लागेसँगै यो क्रमिक रूपमा हट्दै जानेछ।”
बाक्लो कुहिरोका कारण सडक यातायातमा समेत जोखिम बढेकाले चालकहरूलाई सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।






