पोखरा, १४ माघ । स्याङ्जाको बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार गरी घाइते बनाउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बैंकमा कार्यरत सुरक्षा गार्डलाई चक्कु प्रहार गरेको अभियोगमा स्थानीय ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठ पक्राउ परेका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बिरुवा अर्चले र जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले सक्रियता देखाउँदै श्रेष्ठलाई बिरुवा बजारबाटै नियन्त्रणमा लिएको हो। चक्कु प्रहारबाट घाइते भएका सुरक्षा गार्डको अवस्था र घटनाको विस्तृत कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका श्रेष्ठमाथि ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि कानुनी प्रक्रिया र घटनाको गम्भीरतालाई लिएर सुक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।






