राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी आफ्नो चुनावी अभियानलाई गति दिएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएलगत्तै यादवले बुधबार डाक्नेश्वरी नगरपालिका पुगेर मन्दिर दर्शन गरेका हुन् ।

पार्टीका वरिष्ठ नेता तथा कार्यकर्ताहरूको दलबलसहित मन्दिर पुगेका यादवले डाक्नेश्वरी देवीको दर्शन गर्नुका साथै उक्त क्षेत्रको लोकआस्था र भौतिक पूर्वाधारको अवस्थाबारे समेत जानकारी लिएका छन् । टोलीमा पूर्वमन्त्री रेणु कुमारी यादव, मधेस प्रदेशका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव लगायतको सहभागिता थियो ।

उम्मेदवारी दर्तापछि मतदाताको घरदैलोमा पुग्नुअघि यादवले धार्मिक अनुष्ठानलाई प्राथमिकता दिएका हुन् । सो क्रममा उनले स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गरेका थिए ।

पार्टीका नेता शैलेन्द्र प्रसाद साहका अनुसार मधेस जनविद्रोहका कमान्डरका रूपमा परिचित यादवलाई आफ्नो क्षेत्रमा पाउँदा स्थानीय मतदाता उत्साहित देखिएका छन् । भेटघाटका क्रममा स्थानीयले यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य र सिँचाइको दयनीय अवस्थाबारे अध्यक्ष यादवको ध्यानाकर्षण गराएका थिए ।

स्थानीयको गुनासो सुनेपछि यादवले यस क्षेत्रको विकास र पूर्वाधार निर्माण आफ्नो मुख्य एजेन्डा रहने आश्वासन दिएका छन् । जसपाले अहिले सप्तरीका विभिन्न पालिकामा पुगेर अगुवा कार्यकर्ता भेला र चुनावी रणनीति तय गर्ने कार्यलाई तीव्र बनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर