राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि श्यामसुन्दर सरदारलाई चुनावी मैदानमा उतारेको छ। सरदारले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई विधिवत् रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ निवासी सरदार लामो समयदेखि सामाजिक न्याय र राजनीतिक परिवर्तनको अभियानमा सक्रिय रहँदै आएका छन्। मधेश आन्दोलनका क्रममा वैचारिक र सांगठनिक रूपमा अग्रमोर्चामा रहेका उनी विशेषगरी दलित, भूमिहीन र पिछडिएका समुदायको अधिकारका लागि वकालत गर्ने नेताका रूपमा परिचित छन्।

यसअघि मधेश प्रदेश सरकारअन्तर्गतको दलित सशक्तिकरण बोर्डको सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका सरदारले आफ्नो उम्मेदवारीलाई ‘उत्पीडितको प्रतिनिधित्व’ का रूपमा व्याख्या गरेका छन्। मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले किसानका समस्या, श्रमजीवी वर्गको अधिकार र सामाजिक विभेदको अन्त्य नै आफ्ना प्रमुख चुनावी मुद्दा रहेको स्पष्ट पारे।
सत्ता र शक्तिभन्दा पनि सीमान्तकृत नागरिकको आवाजलाई संसद्सम्म पुर्याउनु आफ्नो प्राथमिक लक्ष्य रहेको दाबी गर्दै उनले यस पटक क्षेत्र नम्बर १ का मतदाताले परिवर्तनको पक्षमा उभिने विश्वास व्यक्त गरे।






