राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम घडीमा आएर आफ्नो चुनावी निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । लामो समयदेखि सप्तरी क्षेत्र नम्बर २ बाटै लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँगको बढ्दो प्रतिस्पर्धा र सम्भावित जोखिमका कारण सप्तरी क्षेत्र नम्बर ३ मा सरेका हुन् ।
सप्तरी २ मा सीके राउतले मैदान नछोड्ने अडान लिएपछि यादवले आफ्नो रणनीति बदल्दै छिमेकी क्षेत्र रोजेका हुन् । २०७९ को निर्वाचनमा सोही क्षेत्रमा राउतसँग भारी मतान्तरले पराजित भएका यादव यसपटक बदला लिने दाउमा थिए । तर, आफ्नो क्षेत्र फेर्ने पुरानै स्वभावलाई निरन्तरता दिँदै उनी यसपटक पनि नयाँ थलोमा पुगेका छन् । २०६४ सालदेखिको उनको संसदीय यात्रामा एउटै क्षेत्रबाट दोहोर्याएर नजित्ने र हरेक पटक क्षेत्र बदल्ने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ ।

आफू सुरक्षित स्थान खोज्दै क्षेत्र ३ मा गए पनि यादवले सप्तरी २ को मोर्चा सम्हाल्न उमेश यादवलाई अघि सारेका छन् । नेकपा परित्याग गरी जसपा प्रवेश गरेका उमेश २०७४ को निर्वाचनमा उपेन्द्रसँगै पराजित भएका पात्र हुन् । जसपाले अहिले उनैलाई सीके राउतविरुद्ध मैदानमा उतारेको छ ।
यसैबीच, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश सिंहको इन्ट्रीले सप्तरी २ को चुनावी अंकगणित झन् पेचिलो बनेको छ । जनमत पार्टी र प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका सिंहले स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने तयारी गरेसँगै यहाँ त्रिपक्षीय भिडन्त हुने देखिएको छ । एकातिर जनमतका अध्यक्ष राउतको वर्चस्व जोगाउने चुनौती छ भने अर्कोतिर जसपा र पूर्व मुख्यमन्त्री सिंहको उपस्थितिले यो क्षेत्रको नतिजा कसको पक्षमा जान्छ भन्ने आकलन गर्न कठिन बनाइदिएको छ ।






