बारा,६ माघ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य शम्भु बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयअनुसार बुढाथोकीलाई सो क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा चुनावी मैदानमा उतारिएको हो।

लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर सक्रिय राजनीति गर्दै आउनुभएका बुढाथोकी बारा क्षेत्र नं. १ मा प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँको उम्मेदवारीसँगै बारामा कांग्रेस कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ। उम्मेदवार चयन भएपछि प्रतिक्रिया दिँदै बुढाथोकीले यस क्षेत्रको समग्र विकास, सुशासन र जनताको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।

“बारा क्षेत्र नं. १ का जनताको सेवा र यस क्षेत्रको पूर्वाधार विकास नै मेरो मुख्य प्राथमिकता हुनेछ,” उहाँले भन्नुभयो। उहाँले पार्टीको सबै तह र तप्काका नेता-कार्यकर्ताहरूलाई एकजुट भएर चुनावमा लाग्न समेत आग्रह गर्नुभएको छ।

बारा-१ मा बुढाथोकीको उम्मेदवारीसँगै चुनावी सरगर्मी बढेको छ। अन्य दलहरूले पनि आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाउने क्रम जारी राखेका छन्। यस क्षेत्रमा मुख्यतया नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर