लहान,५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । १९ औं मधेस बलिदानी दिवसको अवसरमा सोमबार बिहानै सिरहाको लहान पुगेर उनले सहिद चोकस्थित महतोको सालिकमा माल्यार्पण गरेका हुन् ।

वि.सं. २०६३ माघ ५ गते मधेस आन्दोलनका क्रममा लहानमा स्कुले विद्यार्थी रमेश महतोले सहादत प्राप्त गरेका थिए । सोही दिनको सम्झनामा मधेसभर आज बलिदानी दिवस मनाइँदै छ ।

सहिदको सालिकमा माल्यार्पण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता शाहले मधेस आन्दोलन र सहिदहरूको त्यागकै जगमा देशमा संघीयता र समावेशिता स्थापित भएको बताए । उनले सहिदका सपना पूरा गर्न इमानदार राजनीतिको आवश्यकता रहेको समेत औंल्याए ।

बालेनसँगै निवर्तमान सांसद एवं रास्वपा नेता अमरेश कुमार सिंह, शिव यादव, पुरुषोत्तम यादव लगायतका नेता तथा कार्यकर्ताहरूको ठूलो समूह लहान पुगेको थियो । लहानमा सहिदलाई श्रद्धाञ्जली अर्पण गरेलगत्तै बालेनको टोली जनकपुरतर्फ प्रस्थान गरेको छ ।

जनकपुरमा शक्ति प्रदर्शनको तयारी आजै दिउँसो जनकपुरधामस्थित तिरहुतिया गाछीको मैदानमा रास्वपाले आयोजना गरेको ‘परिवर्तन उद्घोष सभा’ लाई बालेनले सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौँको मेयर पद छाडेर रास्वपाको वरिष्ठ नेताको जिम्मेवारी सम्हालेपछि बालेनको यो पहिलो मधेस भ्रमण हो ।

यसअघि आज बिहानै उनले जनकपुरको जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए, जहाँ मन्दिरका महन्थले उनलाई देशको नेतृत्व (प्रधानमन्त्री) गर्ने आशीर्वाद दिएका थिए । आजको सभामा नेता अमरेश कुमार सिंह लगायत मधेसका प्रभावशाली नेताहरू रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेकाले यसलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर