४ माघ, काठमाडौँ । मिस नेपाल लुना लुइँटेलले आगामी विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ का लागि आफ्नो तयारीलाई तीव्रता दिएकी छन्। प्रतियोगिताको सबैभन्दा गरिमामय विधा ‘ब्यूटी विथ पर्पस’ (उद्देश्यसहितको सुन्दरी) अन्तर्गत उनले पर्वतको फलेवास नगरपालिकामा बहुआयामिक सामाजिक परियोजना अघि बढाएकी हुन्।
लुनाले फलेवासको खानी गाउँ (वडा नं. ५) लाई आफ्नो कार्यक्षेत्र बनाएर स्वास्थ्य, शिक्षा र उद्यमशीलतालाई समेट्दै विशेष अभियानको थालनी गरेकी छन्।

परियोजनाका मुख्य आकर्षणहरू:
-
महिला उद्यमशीलता: दुना टपरी कारखाना स्थानीय महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले लुनाकै पहलमा दुना टपरी उत्पादन कारखानाको निर्माण सुरु गरिएको छ। यो फ्याक्ट्रीका लागि आवश्यक आधुनिक मेसिन र औजारहरू समेत उपलब्ध गराइनेछ, जसले परम्परागत सीपलाई व्यवसायिक रूप दिने विश्वास गरिएको छ।
-
स्वास्थ्य क्षेत्रमा फड्को: ९० लाखको टेलिमेडिसिन सेवा फलेवासका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन स्थानीय जनता आधारभूत विद्यालयमा करिब ९० लाख मूल्य बराबरको टेलिमेडिसिन मेसिन जडान गरिने भएको छ। एनसेलको ‘स्याटेलाइट टेलिमेडिसिन प्रोजेक्ट’ र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने यस सेवामार्फत गाउँलेहरूले विशेषज्ञ चिकित्सकबाट दूर-चिकित्सा (Remote Consultation) सेवा लिन सक्नेछन्।
-
शिक्षा र चेतना: स्वास्थ्य र उद्यमशीलतासँगै स्थानीय शिक्षाको गुणस्तर सुधारमा पनि यो परियोजनाले काम गर्ने लक्ष्य राखेको छ।
मिस वर्ल्डको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा केवल सुन्दरता मात्र नभई समाज परिवर्तनको ठोस कामलाई प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार लुनाले यो दीगो परियोजना रोजेकी हुन्। स्थानीय स्तरमा रोजगारी सिर्जना र आधारभूत स्वास्थ्य सेवामा सुधार गर्ने उनको यो प्रयासले ‘मिस वर्ल्ड’मा नेपालको दाबेदारीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।






