राजविराज,३ माघ । सप्तरीका विभिन्न स्थानीय तहमा अन्य राजनीतिक दल परित्याग गरी सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरू स्वाभिमान पार्टीमा प्रवेश गरेका छन्। छिन्नमस्ता र तिलाठी कोइलाडी गाउँपालिकामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच ७ सयभन्दा बढी कार्यकर्ता स्वाभिमान पार्टीमा समाहित भएका हुन्।
छिन्नमस्ता गाउँपालिकामा माओवादी केन्द्रका नेता जोगेन्द्र शर्माको नेतृत्वमा नेपाली कांग्रेसका केदार दास (पप्पु) र देवेन्द्र शर्मा, जसपा नेपालका गङ्गा प्रसाद महतो, नेकपाका प्रवीण झा र मनोज झासहित २ सय ६० जना स्वाभिमान पार्टीमा प्रवेश गरेका छन्।


त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा जसपा नेता जीवछ मण्डलको नेतृत्वमा जनमत पार्टीका अजय मण्डल, जसपाका ललन खंग, लोसपाका जुगेश्वर खंग र कुसुमलाल साफीसहित १२४ जनाले पार्टी परिवर्तन गरेका छन्। सोही गाउँपालिकाको वडा नं. ३ सकरपुरामा जनमत पार्टीका कमलेश्वर मुखियाको नेतृत्वमा रोहित चौधरी, कांग्रेसका सूर्य नारायण साह, माओवादीका नारायण साह र लोसपाका बुधु खंगसहित ४ सय जना पार्टीमा प्रवेश गरेको केन्द्रीय संयोजक सत्यवान सिंहले जानकारी दिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं स्वाभिमान पार्टीका नेता सतिश कुमार सिंहले परम्परागत राजनीतिक शक्तिहरूबाट मधेशको उत्थान सम्भव नभएकाले जनताले नयाँ विकल्प रोजेको बताउनुभयो।
“अहिलेका स्थापित दलहरूले मधेशी जनताको भावना र स्वाभिमानसँग खेलबाड गरेकै कारण आम नागरिकमा निराशा छाएको छ,” पूर्व मुख्यमन्त्री सिंहले भन्नुभयो, “आजको यो जनलहरले स्वाभिमान पार्टी नै मधेशको वास्तविक आवाज हो भन्ने पुष्टि गरेको छ। हामी सुशासन र तल्लो तहका जनताको अधिकारका लागि प्रतिबद्ध छौँ।”

कार्यक्रममा पार्टीका केन्द्रीय संयोजक सत्यवान सिंह, शिवनाथ यादव, पप्पु यादव, मनोज माझी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। नवप्रवेशीहरूलाई पूर्व मुख्यमन्त्री सिंह र संयोजक सिंहले अबिर तथा माला लगाएर स्वागत गरेका थिए।









