कञ्चनरुप – मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले नयाँ शक्तिका नाममा उदाएका दलहरूले संघीयता खारेज गरी दलित, मधेसी, थारू र अल्पसंख्यकको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ। कञ्चनरुप–४ कविलासास्थित गैँड सिंह बाबाको प्राङ्गणमा शुक्रबार आयोजित ‘९औँ माघी तिला संक्रान्ति महोत्सव २०८२’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा मन्त्री यादवले संघीयताकै कारण अहिले तीन तहको सरकारमार्फत पिछडिएका समुदायले आफ्नो अधिकार प्रयोग गर्न पाएको चर्चा गर्नुभयो। “नयाँ शक्ति भन्नेहरूले संघीयतामाथि प्रहार गरिरहेका छन्, यसप्रति हामी सचेत भएर खबरदारी गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “संघीयता दलित र अल्पसंख्यकको सुरक्षा कवच भएकाले यसको संरक्षणमा सबै एक हुनुपर्छ।”

मन्त्री यादवले सरदार जातिको धर्म, संस्कृति र पहिचान जोगाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै जातीय मुक्ति आन्दोलनबिना पूर्ण अधिकार प्राप्ति सम्भव नहुने विचार व्यक्त गर्नुभयो। साथै, प्रदेशको शिक्षा, स्वास्थ्य र कृषिको अवस्था सुधारका लागि आफूले कार्ययोजनासहित काम सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो।
सोही अवसरमा दलित सरोकार मञ्चका निर्देशक भोला पासवानले देशको लोक संस्कृति जोगाउन दलित समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। राज्यको नीति निर्माण तहमा सरदार जातिको प्रतिनिधित्व नहुँदा यो समुदाय अझै पछाडि परेको उहाँको तर्क थियो।
डा. अर्जुन सरदार सम्मानित महोत्सवका अवसरमा सरदार जातिबाट पहिलो पटक एमबिबिएस (MBBS) अध्ययन पुरा गरेका डा. अर्जुन सरदारलाई सम्मान-पत्र र दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो। त्यसैगरी, अर्थमन्त्री यादव र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रम हुनुअघि मौलिक भेषभुषामा सजिएका महिलाहरूले कलश यात्रा निकालेका थिए, जसले कञ्चनरुप नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। समाजका नगर सभापति राजेश सरदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रञ्जना सरदार, वडा अध्यक्ष जोगिन्द्र पासवान लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। केन्द्रीय सभापति श्यामसुन्दर सरदारले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय बाँतर कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।






