राजविराज – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार शुक्रबार एकैसाथ यी कार्यालयहरूको औपचारिक उद्घाटन गरिएको हो।

सदरमुकाम राजविराजमा निर्वाचन क्षेत्र नम्बर २ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ। उक्त कार्यालयको उद्घाटन राजविराज नगरपालिकाकी नगरप्रमुख इसरत परवीनले गर्नुभयो। सो अवसरमा बोल्दै नगरप्रमुख परवीनले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।

जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार शुक्रबार नै जिल्लाका अन्य तीन क्षेत्रमा पनि निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा आएका छन्। निर्वाचन क्षेत्र नम्बर १ को कञ्चनरुप नगरपालिकामा जानकी रमण यादव, क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिकामा सीताराम अर्याल र क्षेत्र नम्बर ४ को खडक नगरपालिकामा विष्णु प्रसाद आचार्यलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ।

मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले कार्यालय स्थापनासँगै निर्वाचनका प्रशासनिक गतिविधिहरूले तीव्रता पाउने बताउनुभयो। उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न नागरिक समाज, सुरक्षा निकाय र सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, बरख गणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक कुलचन्द्र नेपाल लगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

यस्तो छ निर्वाचन कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। माघ ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने, ८ गते उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन गर्ने र ९ गते उम्मेदवारी फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृतले जानकारी दिनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर