महुली – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६, महुलीमा थारु समुदायको महान पर्व माघी तथा थारु संवत् २६४९ का अवसरमा शुक्रबार माघी महोत्सव भव्यताका साथ मनाइएको छ। थारु माघी महोत्सव समिति वडा नम्बर ६ रतवालाको आयोजना र वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
महोत्सव समितिका संयोजक लक्ष्मीदेवी चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कल्पना कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरी, पूर्वमन्त्री नवलकिशोर साह (रामबाबु), थारु कल्याणकारिणी सभाकी केन्द्रीय उपाध्यक्ष सावित्री चौधरी र वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्यले थारु संस्कृति र पहिचानको जगेर्ना गर्न यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सो अवसरमा पूर्व वडाध्यक्ष कुसुम आचार्य, स्थानीय समाजसेवी दिव्यराज सुवेदी, बाबुराम बस्नेत र श्याम यादव लगायतले माघी तथा नयाँ संवत्को शुभकामना व्यक्त गर्नुभएको थियो।
किरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन देवकान्त चौधरीले गर्नुभएको थियो। महोत्सवको मुख्य आकर्षणका रूपमा स्थानीय कलाकारहरूले ‘बिग्रल बाबुके सुधरल बेटा’ शीर्षकको जनचेतनामूलक नाटक मञ्चन गरेका थिए। साथै, कार्यक्रममा थारु समुदायको पौराणिक गीत, सङ्गीत तथा विभिन्न सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो।






