राजविराज – आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सप्तरीमा म्यादी प्रहरीका लागि उल्लेख्य संख्यामा आवेदन परेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार माग गरिएको संख्याभन्दा झन्डै दोब्बर बढीले भर्ना हुन इच्छा देखाएका छन्।
सप्तरीमा कुल ४ हजार २ सय २२ जना म्यादी प्रहरी आवश्यक रहेकोमा आवेदन दिने अन्तिम दिन बिहीबार साँझसम्म ७ हजार ४ सय ४४ जनाले दर्ता गराएको प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिनुभयो। आवेदन दिनेहरूमा ६ हजार ५ पुरुष र १ हजार ४ सय ३९ महिला रहेका छन्।

निर्वाचन सुरक्षालाई सुदृढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा यो भर्ना प्रक्रिया अगाडि बढाइएको हो। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकहरूले यसमा सहभागिता जनाएका छन्।

छनोट र तालिमको समयतालिका जिल्ला प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार आवेदन दिनेहरूको छनोट प्रक्रिया माघ ५ गतेदेखि सुरु भई ९ गतेसम्म चल्नेछ। छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिनेछ। सफल उम्मेदवारहरूलाई माघ १५ गतेदेखि २४ गतेसम्म विशेष सुरक्षा तालिम प्रदान गरिने कार्यतालिका तय गरिएको छ।
पारिश्रमिक र सेवा सुविधा भर्ना हुने म्यादी प्रहरीको कार्यअवधि नियुक्ति भएको मितिदेखि ४० दिनको रहनेछ। नेपाल सरकारले तोकेको मापदण्डअनुसार उनीहरूले प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको जम्मा ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्। यसका अतिरिक्त सम्बन्धित जिल्लामा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने रासन दररेट अनुसार उनीहरूलाई खाद्यान्न खर्च समेत उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






